प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन
पाेखरा | जेठ ५, २०८१
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् ।
पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् ।
दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भए । अच्युतकृष्ण खरेल चौँथो र लक्ष्मण मल्ल पाँचौ भएको आयोजकले जनाएको छ । खरेलले एक घण्टा ४८ मिनेट १० सेकेन्ड र मल्लले एक घण्टा ५२ मिनेट ५१ सेकेन्डमा दौड पुरा गरेका थिए ।
महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भए । बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट १ सेकेन्डमा २० किलोमिटर दूरी पार गरेका थिए । सोफिया विक चौँथो र प्रेमा परियार पाँचौ भए । सोफियाले दुई घण्टा २१ मिनेट १२ सेकेन्ड र प्रेमाले दुई घण्टा ३९ मिनेट ३ सेकेन्डमा दौड सकेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ३०/३० र २०/२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । चौँथो र पाँचौ हुनेले क्रमश ः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने । उनीहरुले १०/१० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । दौडमा सहभागी हुनेमध्ये पोखराभित्रका खेलाडी जो सुरुमा फिनिसिङ लाइन पुग्छ उसले पोखरा च्याम्पियनको उपाधि पाउँछ । सोफियाले महिलातर्फ चौँथो भएकोमा १० हजार र पोखरा च्याम्पियन बनेकोमा थप १० हजार गरेर २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार हात पारिन् ।
पोखरा महानगरपालिका १७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र रन फर फन विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए । रन फर फन विधामा सहभागी खेलाडीले प्रमाणपत्र प्रदान गरियो ।
पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्स्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो । कास्की जिल्ला साइक्लिङ संघ र नेपाल साइक्लिङ संघको पहलमा प्रतियोगिताको लागि यो नयाँ रुट तय भएको हो ।
विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा १७ कि वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, पोखरा–१७ का वडा सदस्यहरुले पुरस्कार हस्तान्तरण गरे ।
प्रदेश सांसद कार्कीले विकास भनेको भौतिक पूर्वाधार निर्माण मात्र नभएको र खेलाडी उत्पादन पनि राष्ट्रका लागि उपलब्धी भएको बताए । ञविकास भनेको बाटो बन्ने मात्र हो । खेलकुदमा राज्यको ध्यान जति पुग्नुपर्ने हो पुगेको छैन । मेरो ठाउँबाट जे गर्न सक्छु मैले गर्छु’ उनले भने । कार्कीले विश्वभर नै बिरामी हुनै नदिन खेलतर्फ अग्रसर गराउन अस्पताल छोडेर खेल मैदान बनाउने अवधारणा आइरहेको र नेपालमा पनि त्यसको खाँचो रहेको बताए ।
पोखरा १७ कि वडाअध्यक्ष राधिका शाही योगीले पोखरा पर्यटकीय राजधानी घोषणा भएकाले पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आवश्यक भएको बताइन् । उनले रानीवनभित्रको रुट धेरै साइकलिष्टको रोजाइँमा पर्ने गरेको र नयाँ रुट थपिनु सकारात्मक भएको बताइन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

